जाजरकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या २४ पुग्यो

भीमबहादुर सिंह
जाजरकोट, २६ फागुन – जाजरकोटमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २४ पुगेको छ। दुर्घटनामा दर्जनाै घाइते छन्। बिहीबार अपरान्ह सदरमुकाम खलंगाबाट साल्माको खाराका लागि छुटेको ना ३ ख २२७९ बस भेरीमालिका-४, बोहोरा गाउँको मोडबाट पासागाड खोलामा खसेको हो।
बस भिरबाट करिब दुई सय मिटर तल खसेको छ। दुर्घटनामा परी मृत्यु भएका सबैको शव नेपाली सेना र प्रहरीको टोलीले बाहिर निकालेको छ। १३ जनाको घटनास्थलमै मृत्यु भएको हो भने ११ जनाको उपचारको क्रममा जिल्ला अस्पताल खलंगामा मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि जिल्ला अस्पताल खलंगा पठाइएको छ। अस्पतालमा बेड नपुग्दा अस्पताल परिसरमै राखेर धेरैको उपचार भइरहेको छ।Jajarkot_Accident
दुर्घटनाका गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं लाने तयारी भए पनि हेलिकोप्टर बस्ने ठाउँको अभावमा त्यो सम्भव भएन् । गम्भीर घाइतेलाई रुकुमको चौरजहारी अस्पतालमा लगिएको छ । उक्त अस्पताल खलंगाबाट १५ किलोमिटरको दूरीमा पर्छ ।
रुकुममा विमानस्थल भएकाले त्यहीबाट काठमाडौं लाने तयारी भएको प्रहरी नायब उपरक्षिक भावेश रिमालले जानकारी दिए। घाइतेलाई लिन नेपाली सेनाको नाइट भिजन हेलिकोप्टर आउने तयारी भएको छ। मृतकमध्ये भेरिमालिका नगरपालिका ४ का नविन चन्द र लहँ ४ का रामबहादुर बस्नेतको मात्र सनाखत भएको छ।
बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । २३ जना मात्र यात्रुको चलानी लिएर हिडेको बसमा ६० बढी यात्रु भएकाे अनुमान गरिएकाे छ।

बिहिबार, फाल्गुन २६, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...