नेपालीको ढुंगाको जवाफ भारतीयले बन्दुकबाट पठायो

धनगढी, २७ फागुन – कञ्चनपुर पुनर्बासको नेपाल–भारत सीमाक्षेत्रमा वारि आनन्दबजार छ भने पारि बसहीबजार छ । पुनर्बास नगरपालिका क्षेत्रका बासिन्दा उपभोग्य सामान किन्न पारिको बसहीबजार जान्छन् । नुन, चिनी, कापीकलम किन्ने सर्वसाधारण मात्र होइन, खुद्रापसलेले पनि पारिबाटै सामान ल्याउँछन् । कच्ची बाटोमा हिउँदमा हिँड्न खासै गाह्रो छैन । तर, बर्खामा हिलोले दुःख हुन्छ । त्यसैले पानी जम्ने ठाउँमा कल्भर्ट बनाइदिन स्थानीयले पहिलेदेखि नै माग गर्दै आएका थिए । र, यो वर्ष नगरपालिकाले पाँच लाख रुपैयाँ छुट्याएको थियो ।
उपभोक्ता समिति गठन गरेर ह्युमपाइपसहितको कल्भर्ट बनाउन स्थानीय एक महिनादेखि नै जुटेका थिए । फागुन पहिलो साता काम सुरु हुनेबित्तिकै सो क्षेत्र दशगजामा पर्ने दाबी गर्दै भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध सिर्जना गरेको थियो । जबकि, कल्भर्ट निर्माण गरिएको क्षेत्र दशगजाभन्दा करिब आठ सय मिटर नेपालतिर पर्छ । तर, सो क्षेत्रको २०० नम्बर पिलर गायब भएको हुनाले स्पष्ट रूपले छुट्याउन मुस्किल छ । समस्या समाधान गर्न १० फागुनमा कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरको नेतृत्वमा गएको टोलीले भारतीय अधिकारीसँग वार्ता गरेको थियो । वार्तापछि पिच गर्न नपाउने, तर गिटी र बालुवा प्रयोग गरेर अस्थायी कल्भर्ट बनाउन दिने सहमति भएपछि निर्माण प्रक्रिया अगाडि बढेको थियो ।kanchanpur-goli
९० प्रतिशत बनेपछि भारतीयले भत्काउन थाले
फागुन अन्तिम साता बुधबारसम्म आइपुग्दा कल्भर्ट निर्माणको काम लगभग ९० प्रतिशत सकिएको थियो । ह्युमपाइपमाथि माटो राखेर माटोमाथि फुटेका इँटा राखेर भर्ने तथा दायाँबायाँ बालुवाका बोरा राख्ने काम पनि लगभग सकिएको थियो । बुधबार बेलुकासम्म पनि थप विरोधको कुनै संकेत थिएन । तर, बिहीबार बिहान ९ बजे एसएसबी र भारतीय प्रहरीका २०-२५ जनाको समूह कल्भर्ट निर्माणस्थलमा आइपुग्यो । उनीहरुले स्थानीय र प्रशासनसँग कुनै संवादसमेत नगरी कल्भर्टका लागि प्रयोग भएका बालुवाका बोरा र इट्टा फाल्न थाले ।भारतीय सुरक्षाकर्मीले कल्भर्ट भत्काउन थालेपछि करिब ३०-३५ जना स्थानीय पनि जम्मा भए । समुहमा कलभर्टमा पुगे । स्थानीय बासिन्दा लक्ष्मण कुमालका अनुसार नेपालीहरूको भनाइ थियो, ‘यो किन भत्काउँदै हुनुहुन्छ ? यो हाम्रो भूमि हो, त्यसमाथि पनि तपाईंहरुसँगकै सहमतिमा हामीले निर्माण गरेका हौँ ।’ तर, भारतीय सुरक्षाकर्मीले ‘हाम्रो भूमिमा किन इटा र कंक्रिट बिछ्यायौ’ भन्दै उल्टै हप्काउन थाले । हतियारधारी भारतीय सुरक्षाकर्मीले धम्क्याएर नेपालीलाई आठ सय मिटरभित्रसम्म ल्याए ।
 नेपालीले ढुंगा हाने, भारतीयले गोली
त्यसपछि अन्य गाउँलेहरु पनि जम्मा हुन थाले । विस्तारै सयौंको संख्यामा नेपाली जम्मा भएपछि भारतीय सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेर धपाउन थाले । त्योबीचमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि पुग्यो । प्रहरीले नेपालीहरुलाई संयमित बनाउने कोसिस गरिरहेको थियो । उतापट्टिका सुरक्षाकर्मीलाई पनि संयमित हुन नेपाली सुरक्षाकर्मीले अनुरोध गरिरहेका थिए । तर, तनाव रोकिएको थिएन । दोहोरो गालीबेइज्जती र ढुंगामुढा करिब दुई घन्टासम्म चलिरह्यो । ११ बजेतिर नेपालीले हानेको ढुंगाले भारतीय प्रहरीका सई अरबिन्दकुमार शुक्ला घाइते पनि भए । उनको हातमा पेस्तोल थियो, उनले तत्कालै गोली चलाउन थाले । उनले चलाएको चौथो राउन्डको गोली नेपाली नागरिक गोविन्द गौतमको पेटमा लाग्यो । उनी त्यहीँ ढले ।
गौतमलाई प्रहरीको गाडीमा राखेर गाउँकै पूनर्वास पोलिक्लिनीमा लगियो । उनको अवस्था नाजुक भइसकेको थियो । थप उपचारका लागि एम्बुलेन्समा राखेर धनगढीस्थित सिपी अस्पताल पुर्या‍इयो । अस्पताल पुर्या‍एको एकै छिनमा उनको निधन भयो । पछि, भारतीय सुरक्षाकर्मीलाई साथ दिन उतापट्टिका स्थानीय पनि जम्मा भए । उनीहरुले हानेको ढुंगा लागेर नेपाल प्रहरीका सई लक्ष्मण विक र सशस्त्र प्रहरीका प्रहरी निरीक्षक राम खत्री घाइते भए । तर, नेपाली स्थानीयले दिनभर सीमाक्षेत्र छाडेनन् । उनीहरुले भारतीय सुरक्षाफौजविरुद्ध नाराबाजी गरिरहे । करिब ४ बजे भारतीय प्रहरीले आश्रुग्याँस प्रहार गर्दा बेलौरी शान्तिपुरका टिकाराम चपागाई घाइते भए । त्यस्तै, पुनर्वासका सागर थापालाई कुटपिट गरियो ।
अन्तमा तीन बुँदे सहमति तर मौखिक
अपराह्न १ बजे कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल र प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्द घटनास्थल पुगे । आक्रोशित स्थानीयले प्रमुख जिल्ला अधिकारीविरुद्ध पनि नाराबाजी गरे । नेपालीमाथि गोली प्रहार हुँदा नेपाली सुरक्षाकर्मीले जवाफ दिन नसकेको भन्दै स्थानीयले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखविरुद्ध नाराबाजी गरे ।
नेपालतर्फको पहलमा भारतीय अधिकारीहरूसँग वार्ता र तीन बुँदे मौखिक सहमति भएको छ । गोली चलाउने अरबिन्दकुमार शुक्लालाई कारबाही गर्ने, कल्भर्ट यथाअवस्थामै राख्ने र केही दिनका लागि सीमामा आवागमन बन्द गर्ने सहमति भएको छ । नयाँ पत्रिका 

शुक्रबार, फाल्गुन २७, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...