भारतिय सुरक्षाकर्मीको गोलीले नेपालीको मृत्यु

कञ्चनपुर, २७ फागुन – कञ्चनपुरको पुर्नवास नगरपालिकास्थित कारगिलडाँडा क्षेत्रमा स्थानीय सडकमा ह्युमपाइप राख्ने विषयमा नेपाली र भारतीय पक्षबीच झडप हुँदा एकजना नेपाली युवकको मृत्यु भएको छ । नेपाल–भारत २०० नम्बर सीमास्तम्भमा पर्ने स्थानमा नेपालीले कल्भर्ड निर्माण गरी पानीको निकासका लागि ह्युमपाइप राख्ने विषयमा नेपाली र भारतीय नागरिकबीच विवाद हुँदा दोहोरो ढुङ्गा हानाहान भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । स्थिति नियन्त्रणमा लिन भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर पुर्नवास नगरपालिका–८ का २५ वर्षीय गोविन्द गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले बताए । एसएसबीको गोली लागेर गम्भीर घाइते भएका गौतमलाई उपचारका लागि धनगढी लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । ह्युमपाइप राख्न भारतीय पक्षले अवरोध गरेपछि आक्रोशित नेपालीले भारतीय भूमिमै गएर उनीहरुलाई लखेटेपछि दोहोरो झडपको स्थिति बनेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ । प्रहरीका अनुसार, भारतीय एसएसबीले छ राउन्ड हवाईफायरसमेत गरेको छ । ‘यतिबेला स्थिति नियन्त्रणमा लिएर हामी स्थानीयवासीलाई साम्य बनाउन लागिरहेका छौँ ।’ प्रहरीले भन्यो– ‘भारतीय नागरिकलाई पनि भारतीय सुरक्षा संयन्त्रले सम्हालिरहेको छ ।’ घटनापछि नेपालतर्फ सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । पुर्नवासका स्थानीयवासीले भारतको स्थानीय सहर बसाइन जाने बाटोमा ह्युमपाइप राखिरहेका थिए । पुर्नवास क्षेत्रमा सीमा अतिक्रमणको विषयलाई लिएर यसअघि पनि किचलो हुने गरेको थियो । यसैबीच, प्रमुख प्रतिपक्षी नेकपा एमालेले कञ्चनपुर घटनामा भारतीय सुरक्षाकर्मी (एसएसबी) विरुद्ध आवश्यक कदम चाल्न सरकारसँग माग गरेको छ । एसएसबीको गोली लागेर कञ्चनपुरको पुनर्वासस्थित माछापुच्छ्रे टोलका गोविन्द गौतम मारिएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुरको आनन्द बजारमा भारतीय पक्षले नेपालीको हत्या गरेको सन्दर्भमा सरकारले तत्कालै भारतीय पक्षसँग जवाफ माग्नुपर्ने बताएका हुन् । काठमाडौंमा बिहीबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार आफ्नो नागरिक मारिदा मूकदर्शक बनेको भन्दै आलोचना गरे । ‘देशभक्तिको कुरा गर्ने, राष्ट्रिय स्वाभिमानको पक्षमा लड्नेहरुलाई खोक्रो राष्ट्रवादी भनेर होच्याउनेहरु आज सिमानामा नागरिक मारिदा प्रतिक्रियाविहीन बनेका छन्,’ ओलीले भने, ‘सरकारले तत्काल यसबारे आपत्ति जनाएर भारतीय पक्षको जवाफ माग्नुपर्छ ।’
नयाँ शक्ति र जनमोर्चाको आपत्ति
यसैगरी नयाँ शक्ति नेपालले घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेको छ । नेपाली नागरिक गौतमको मृत्यु भएको घटनाको घोर भत्र्सना गर्दै नयाँ शक्तिले मृतकप्रति श्रद्धाञ्जली एवं मृतकका परिवारप्रति समवेदना प्रकट गरेको छ । नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो घटना नेपाल–भारत सीमा क्षेत्रमा विद्यमान विवादकै परिणामस्वरुप भएको घटना हो । नेपाल–भारत सीमा क्षेत्रमा यस्ता धेरै विवादका विषयहरु विद्यमान छन् जसको स्थायी समाधानका लागि सरकारले ठोस पहल गरेको छैन ।’ सरकारले तत्काल कुटनीतिक पहल गरी सीमा समस्याको समाधान गर्नुपर्ने नयाँ शक्तिको माग छ ।
यसैगरी, चित्रबहादुर केसी राष्ट्रिय जनमोर्चाले पनि एसएसबीले कञ्चनपुरमा गरेको ज्यादतीको निन्दा गर्दै देशव्यापी विरोध गर्ने घोषणासमेत गरेको छ । अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘भारतीय विस्तारवादको उक्त ज्यादतिको विरोधमा हाम्रो पार्टीले कञ्चनपुरसहित देशका विभिन्न जिल्लाहरुमा विरोध कार्यक्रम गर्ने ठेगान गरेको छ । कार्यक्रमलाई सफल पार्न र भारतीय विस्तारवादको भण्डाफोर गर्नको निम्ति हामी सम्पूर्ण जनतासँग अपील गर्दछौं ।’ जनमोर्चाको विज्ञप्तिमा थप लेखिएको छ, ‘साथै भारतीय विस्तारवादलाई नेपाली सीमामा आपराधिक कार्य, सीमा अतिक्रमण, हस्तक्षेप र ज्यादति तुरुन्त बन्द गर्न हामी जोडदार माग गर्दछौं ।’ जनमोर्चाले मृतकको परिवारलाई उचित क्षतिपूर्ति र घाइतेको सम्पूर्ण उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्दछ ।
युवा विद्यार्थी आन्दोलित
यसैवीच सत्तारुढ नेकपा माओवादी केन्द्रका युवा संगठन वाईसीएल र विद्यार्थी संगठन अखिल क्रान्तिकारीले कञ्चनपुर घटनाविरुद्ध राजधानीसहित देशभर विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन् । वाईसीएलले बिहीबार साँझ र क्रान्तिकारीले शुक्रबार बिहान काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने कार्यक्रम सार्बजनिक गरेका छन् ।
सत्ता पक्ष बोलेन, नारायणकाजीले मुख खोले
कञ्चनपुर घटनाबारे सत्तारुढ माओवादी र नेपाली कांग्रेसले विहीबार साँझसम्म कुनै औपचारिक वक्तव्य निकालेका छैनन् । प्रचण्ड नेतृत्वको सरकारले यो समाचार तयार पार्दासम्म कञ्चनपुर घटनाबारे मुख खोलेको छैन । यद्यपि सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने घटनालाई ‘भारतीयको ज्यादती’ भनेका छन् । श्रेष्ठले सरकारलाई तुरुन्त यसबारे भारतसँग वार्ता गर्न भनेका छन् । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले ट्वीटरमार्फत् आफ्नो धारणा सार्बजनिक गरेका हुन् । उनले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । भारतीय आक्रमणबाट नेपाली मारिएको घटनाबारे मधेसी मोर्चामा आवद्ध कुनै पनि दलले औपचारिक प्रतिक्रिया दिएका छैनन् ।
विप्लव माओवादीले गौरीफन्टा नाका बन्द गराए
आनन्दबजारमा भारतीय सुरक्षा फौजको गोली लागी एक नेपालीको मृत्युभएपछि विप्लव माओवादीका कार्यकर्ताले कैलाली र कञ्चनपुरमा आन्दोलन सुरु गरेका छन् । विप्लवका कार्यकर्ताले बिहीबार साँझ गौरीफन्टा नाका अन्तरगतको श्रीनगर भन्सार बन्द गराएका छन् । उनीहरुले जिल्लाका विभिन्न भागमा विरोध प्रदर्शन गर्दै भारतविरुद्ध नाराबाजी गरेका छन् ।

शुक्रबार, फाल्गुन २७, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...