ऋण लगानी जनताको बचत हो तिर्नै पर्दछ : चन्द्रप्रसाद ढकाल

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जनताको बचत नै ऋण लगानी भएको बताउदै अहिले बजारमा चलेको हल्ला जस्तो ऋण नतिर्ने भन्ने नहुने बताउनु भएको छ ।

म्याग्दी उद्योग बाणिज्य संघको ३० औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनमा बोल्दै उहाँले जनताले जम्मा गरेको बचत रकम नै बैंक तथा बित्तिय संस्थाले ऋणको रुपमा परिचालन गर्ने भएकोले कसैले तिर्दिन भनेर सुख नपाइने धारणा राख्नु भयो । उहाँले ब्याजदरका विषयमा छलफल हुन सक्ला तर, ऋणै नतिर्ने भन्ने हुन नसक्ने बताउनुभयो । कसैले उक्साएर ऋण मिनाहा हुने होइन, ऋण लिए पछि तिर्नै पर्छ तर समय सापेक्ष ब्याजदर केही हेरफेरका लागि प्रयास गरिनु स्वभाविक मान्न सकिएला नतिर्ने भन्ने हुँदैन– ढकालले सुनाउनुभयो ।

उहाँले भन्नुभयो–‘म आफै ब्याङकर अनि व्यवसायी भएकोले ऋणी पनि हो, यस हिसाबले पनि ब्यादर एक अंकमा झार्नका लागि मैले व्यक्तिगत रुपमा सार्वजनिक रुपमै घोषणा गरेको पनि छु ।’ अहिले बैंकको ब्यादर एक अंकमा आइसकेकोले हरेक दिन निराशाको हिसाबले हिड्ने भन्दा पनि सम्भावनाको खोजीमा लाग्नु नै उचित हुन्छ । लाखौं मानिसले सय पचास गरेर गरेको डिपोजिटले बैंक तथा सहकारीहरु चल्ने हुन् त्यसैले कसैले भनेकै भरमा कुनै हालतमा ऋण मिनाहा हुनै सक्दैन–उहाँले सुनाउनुभयो ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका लागि निकै महत्वपूर्ण कालिगण्डकी करीडोर अन्तरगतको चीन सँगको सीमानाका कोरला नाका नेपाल तर्फ सहज तबरले पहुँचका साथै भन्सार, सुरक्षा तथा व्यवसायिक हिसाबले सञ्चालनका लागि सरकार सँग समन्वय र नियमित छलफलमा रहेको बताउनु भएको थियो । उहाँले बागलुङ पञ्चकोट आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल सँग कोरलाको नियमित सञ्चालन गर्नका लागि सडकको स्तरोन्नतीलाई चाडो पूर्णता दिन प्रस्ताब गरेको बताउनुभयो । उहाँले थप्नुभयो–‘हामी सँगै बागलुङ सम्म आउँदा धेरै विषयमा छलफल भयो यसमा पनि कोरला नाका र यस क्षेत्रको दिगो विकासलाई पनि पहल गर्न आग्रह गरेँ ।’

म्याग्दी उद्योग बाणिज्य संघको साधारणसभामा नेपाल उद्योग बाणिज्य संघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठले कालिगण्डकी करिडोर निर्माण भै सञ्चालनमा रहेकोमा हाल स्तरोन्नतीको काम भै रहेकोले त्यसलाई जति सक्यो चाँडो सकेको खण्डमा धेरै फाइदा लिन सकिने बताउनुभयो । उहाँले भन्नुभयो–‘सडकको स्तर राम्रो भए पर्यटकहरुको संख्या बढ्छ र त्यसको उपयोग हामीले नै गर्न पाउँछौं त्यसैले यसलाई जति सक्यो चाँडो सक्नै पर्छ ।’

संविधानसभा सदस्य नवराज शर्माले विद्युतको निरन्तरताको ग्यारेन्टी गरि विद्युत प्रयोगलाई प्रोत्साहन गर्नु पर्ने धारणा राख्नु भएको थियो । उहाँले विद्युत काटिने समस्या हल भएको खण्डमा बिद्युतको प्रयोग जनताले धेरै गर्ने भएकोले त्यस तर्फ सचेत रहँन आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश पौडेल, सञ्चारकर्मीका तर्फबाट समृद्ध साप्ताहिकका कमल खत्री, म्याग्दी काली मिडिया प्रालिका ठाकुरप्रसाद आचार्यलाई सम्मान गरिएको म्याग्दी उद्योग बाणिज्य संघका महासचिव अमित बानियाँले बताउनुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य गोविन्द पौडेल, प्रदेश सभा सदस्य हरिबहादुर भण्डारी, बिमला गौचन, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, नेपाल उद्योग बाणिज्य महासंघा पूर्व अध्यक्ष आनन्दराज मुल्मी, सम्पूर्ण राजनैतिक दलहरुको तर्फबाट नेपाली कांग्रेसका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठ, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचन, सम्पूर्ण जिल्ला तथा नगर उद्योग बाणिज्य संघको तर्फबाट पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवन प्रजापति, म्याग्दी उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष उत्तमकुमार कर्माचार्यले मन्तव्य राख्नु भएको थियो ।

त्यस्तै म्याग्दी उद्योग बाणिज्य संघले आफ्ना सदस्यहरुका लागि स्थापना गरेको व्यवसायी हितकोषबाट विभिन्न समयमा बिपदमा परेका २७ जना सदस्यहरुलाई पाँच हजार रुपियाँ देखि ७५ हजार रुपियाँ सम्म आर्थिक सहयोग गरेको थियो । परिवारको सदस्य तथा स्वयम् सदस्यको मृत्यु भएका तथा अन्य विपत्तीमा परेकालाई आर्थिक सहयोग गरिएको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।

म्याग्दी उद्योग बाणिज्य संघले सामाजिक उत्तरदायित्व अन्तरगत म्याग्दी महोत्सव–२०७९ को तर्फबाट नेपाल बाल संगठनलाई १५ हजार, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानलाई २० हजार, संगितकर्मी संघलाई १५ हजार नगद प्रदान गरेको म्याग्दी उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो । म्याग्दी बहुमुखी क्याम्पसबाट उत्कृष्ट स्थान हासिल गरी स्नातकोत्तर उत्तिर्ण गर्ने छात्र प्रविन पौडेल र लिलकुमारी पुर्जा मगरलाई उद्योग बाणिज्य पुरस्कारको नगद र कदरपत्रले सम्मान गरिएको थियो ।

म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन सत्रको सञ्चालन महासचिव अमित बानियाँले गर्नुभएको थियो ।

आइतवार, फाल्गुन २०, २०८० मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...