क्षेत्र निर्धारण आयोगलाई हस्तक्षेप र दबाबमा नपर्न एमालेको आग्रह

काठमाडौं, १२ साउन- नेकपा एमालेले राजनीतिक हस्तक्षेप, स्वार्थ र दबाब मुक्त रहेर काम गर्न निर्वाचन क्षेत्र निर्धारण आयोगको ध्यानाकर्षण गरेको छ । पार्टी स्थायी कमिटी बैठकले तोकिएकै समयसीमा भित्र निर्वाचन क्षेत्र निर्धारण गरिसक्न निर्वाचन क्षेत्र निर्धारण आयोगलाई आग्रह गरेको हो ।
धुम्बाराहीस्थित पार्टी कार्यालयमा बिहीबार बिहान बसेको बैठकले संविधानले निर्दिष्ट गरेको मापदण्डभित्र रहेर स्वतन्त्र र निष्पक्ष ढंगले आफ्नो कार्यसम्पादन गर्न पनि आयोगलाई सुझाव दिएको छ ।
सरकारले २१ दिन भित्र काम गरिसक्ने कार्यादेशसहित सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दासको नेतृत्वमा ५ सदस्यीय निर्वाचन क्षेत्र निर्वाचन आयोग गठन गरेको छ । आयोगलाई दिइएको समयसीमा भित्रै निर्वाचन क्षेत्र निर्धारणको काम गरिसक्न आग्रह गरिएको पार्टीका सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
एमालेले निर्वाचन क्षेत्र निर्धारण आयोगको गठनमा ढिलाई हुँदा आगामी माघ ७ गते भित्र सबै तहको निर्वाचन सम्पन्न नहुने हो कि भन्ने आशंका पनि व्यक्त गर्दै आएको छ ।
एमाले स्थायी कमिटी बैठकले जिल्ला समन्वय समितिका लागि पार्टीले दिने प्रमुख, उपप्रमुखसहितका उम्मेदवारहरु पनि तय गरेको छ । प्रदेश नम्बर ४ मा केन्द्रित भएर देशभरका सबै जिल्ला समन्वय समितिका लागि पार्टीको तर्फबाट दिने उम्मेदवार तय गरिएको पनि सचिव ज्ञवालीले बताए ।

बिहिबार, साउन १२, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...